काठमाडाैँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन् ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुग्नुभएका मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याए । काठमाडौँ महानगरपालिकामा रहँदा शुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, “अहिले नेपालको खेलकुद इन्डस्ट्री हेर्ने हो भने धेरैजसो खेलाडीहरू नेपाल प्रहरी, सेना र एपीएफबाट आएका छन् किनभने त्यहाँ डाइट, ट्रेनिङ र नियमित आम्दानीको सुनिश्चितता छ । तर १८ वर्ष पुगेपछि मात्र ती निकायमा जान पाइन्छ । हामीले त्यही स्तरको डाइट र ट्रेनिङ सानो उमेरदेखि नै दिन सक्यौँ भने खेलकुदको विकास अझै तिब्र गतिमा हुन्छ । महानगरमा हुँदा कतिपय कानुनी अड्चनले गर्दा पाठ्यक्रममा जोड्न सकिएन तर अब हामी नीति निर्माणकै तहमा छौँ । पाठ्यक्रम विकास केन्द्र (ऋम्ऋ) सँग मिलेर विद्यालयको पाठ्यक्रममै खेलकुदलाई जोड्न हामीलाई कसैले रोक्दैन ।”
मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भुमिका खेल्ने बताए । आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे । मन्त्री पोखरेलले आगामी ५ वर्ष खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्