काठमाडाैँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् ।
वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् । उनले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन् ।
उनकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पु¥याउन सहयोग पुग्नेछ । उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन् ।
यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ । अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन् ।
वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् । ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडिबुटी क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ ।
सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानूनी सुधार गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताइन् । साथै, युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याँइन् ।
विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्