‘दलालको पैसाले कारोबारी हाबी’


पछिल्लो समय देशको राजनीतिक र आर्थिक अवस्थामा सुधारको खाँचो पनि छ र सकारात्मक सम्भावना पनि देखिन्छ । कोभिड–१९ पछि अर्थतन्त्रको नीतिनिर्माण तहमा आएका परिवर्तनहरूले गर्दा धेरैजसो आर्थिक परिसूचकहरू सकारात्मक दिशातर्फ मोडिएका छन् ।

विशेष गरी नेपाल राष्ट्र बैंकको नेतृत्वमा आएको परिवर्तनपछि आर्थिक वृद्धिदर, बैंकिङ तरलता (नगद प्रवाह), घट्दो ब्याजदर, वैदेशिक मुद्रा सञ्चिति र रेमिट्यान्स वृद्धि जस्ता पक्षहरू उत्साहजनक देखिएका छन् ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूले सेयर बजारमैत्री नीति र कार्यविधिहरूमार्फत सकारात्मक भूमिका खेलिरहेका छन् ।

धितोपत्र दलालहरूको छाता सङ्गठन ’स्टक ब्रोकर एसोसिएसन नेपाल’ ले पनि नयाँ नेतृत्व चयनपछि दलाल व्यवसायी, लगानीकर्ता र समग्र बजारको दिगो वृद्धिका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी बजारमैत्री नीति नियम बनाउन उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ ।

वर्तमान स्थिति र बजारको अस्थिरता

आर्थिक सूचकहरू सकारात्मक हुँदाहुँदै पनि सेयर बजार अझै अस्थिर देखिन्छ । नयाँ पुस्ताको संलग्नता र विभिन्न आन्दोलनपछिको बजारमा अत्यन्तै उतारचढाव देखिएको छ, जसको मुख्य कारण नेपालको अस्थिर राजनीतिक अवस्था हो ।

राजनीतिक घटनाक्रमकै कारण बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्ताहरू पूर्ण क्षमतामा बजारमा प्रवेश गर्न अझै केही आनाकानी गरिरहेको महसुस हुन्छ ।

अहिले बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन कारोबारी (सर्ट ट्रेडर) हरू बढी हाबी छन् । कति प्रतिशत लगानी गर्ने र कति प्रतिशत व्यापार (ट्रेडिङ) गर्ने भन्ने कुरा व्यक्तिको आफ्नै निर्णयमा भर पर्छ ।

यद्यपि हालको अवस्थामा बिक्रेताहरूको चाप बढी छ । कारोबारमा पनि लगानीकर्ताको आफ्नै पैसाभन्दा दलाल (ब्रोकर) ले उपलब्ध गराउने सापट वा ऋणको हिस्सा बढी देखिन्छ । स्वभाविक रूपमा दलालको पैसा चलाइसकेपछि सेयर लामो समयसम्म ‘होल्ड’ गर्न नसकिने र बिक्रीका लागि दबाब बढ्ने भएकाले बजारमा तीव्र उतारचढाव भइरहेको छ ।

देशको राजनीतिक अवस्था स्थिर हुनेबित्तिकै बजारमा ‘कारोबारी’ भन्दा पनि अल्पकालीन तथा दीर्घकालीन ’लगानीकर्ता’ हाबी हुन थाल्छन् । आधारभूत रूपमा बलिया र वित्तीय सूचकहरू राम्रा भएका तर बजार मूल्य वास्तविक मूल्यभन्दा कम भएका (अन्डर भ्यालुड) कम्पनीहरूको सेयर सञ्चय हुँदै जानेछ र विस्तारै बजारले आफ्नो वृद्धिको लय समात्ने देखिन्छ ।

४/१२ को नीति र यसको सान्दर्भिकता

नेपाल राष्ट्र बैंकले विगतमा ल्याएको ४/१२ करोडको ऋण सीमा लगायतका नीतिहरू त्यस समयको वित्तीय सन्तुलनका लागि सान्दर्भिक थिए भन्ने अहिले महसुस हुन्छ । राष्ट्र बैंकको उचित र कडा नीतिका कारण नै हामी श्रीलङ्का जस्तो चरम वित्तीय सङ्कटमा परेनौँ ।

नीतिगत सीमा हट्नु आफैँमा राम्रो कुरा हो तर सीमा हट्दा बजारमा सोचेजस्तो ‘उत्पात’ वृद्धि भने देखिएन । यसबाट के प्रस्ट हुन्छ भने, त्यस समय बजार घट्नुमा ४/१२ को सीमा मात्र मुख्य कारण थिएन ।

सार्वजनिक निष्कासन (आइपिओ) को बाढी

राम्रो व्यावसायिक घराना, सुदृढ वित्तीय सूचक र स्पष्ट योजना भएका कम्पनीहरूले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेर सर्वसाधारणमा जानु संस्था र लगानीकर्ता दुवैका लागि हितकर हुन्छ । अझ बलिया कम्पनीहरूले ’बुक बिल्डिङ’ (बोलकबोल) विधिबाट सार्वजनिक निष्कासन गर्दा बजारलाई परिपक्व बनाउँछ ।

वित्तीय अवस्था कमजोर भएका, कागजी विवरणमा मात्र राम्रा देखिएका र केवल ऋण तिर्न वा निहित स्वार्थका लागि मात्र निष्कासन गर्न खोज्ने कम्पनीहरूलाई आइपिओ जारी गर्न दिनु राम्रो होइन । लगानीको सम्पूर्ण जोखिम सर्वसाधारणतिर सारेर आफू बाहिरिने उद्देश्यले आउने निष्कासनको बाढीले बजारलाई दीर्घकालीन क्षति पु¥याउँछ ।

उधारो व्यवस्थापन र नयाँ लगानीकर्ता

दलाल कम्पनीहरूको बक्यौता शून्य हुनु असम्भव प्रायः कुरा हो । व्यापार गरेपछि लेनदेन हुनु स्वाभाविक हो तर यसको कुशल व्यवस्थापन मुख्य कुरा हो । ब्रोकरमा पैसा चाँडो भित्रियोस् र बक्यौता रकम सकेसम्म कम होस् भनेर काम गर्ने हो । बजारमा खराब ऋणको जोखिम हुनुहुँदैन ।

सेयर बजार आधुनिक प्रविधि र ‘स्मार्ट’ आर्जनको एउटा उत्कृष्ट माध्यम हो । डिजिटल प्रविधिले कारोबारलाई सहज बनाएको छ । सरकारले अन्य विकसित मुलुकका बजारको अध्ययन गरी नेपालको सन्दर्भमा थप लगानीमैत्री नीतिहरू बनाउनुपर्छ । कारोबार प्रविधिमा नयाँ सेवा सुविधाहरू थप्नु आवश्यक छ ।

केही पुराना र ठुला लगानीकर्ताले सामाजिक सञ्जालमा भ्रम फैलाउने वा बजारलाई ’जुवा घर’ जस्तो गरी हल्ला गर्ने प्रवृत्ति बन्द गर्नुपर्छ । धितोपत्र बोर्डको नवीकरण योग्य ’मार्जिन’ कारोबार सुविधाले बजारमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

सफल व्यवस्थापनको मन्त्र

जुनसुकै पेसा वा व्यवसायमा व्यक्तिको भूमिका नै निर्णायक हुन्छ । एक सफल व्यवस्थापकले सङ्गठनको उद्देश्य प्राप्तिका लागि स्पष्ट रणनीति तय गर्नुपर्छ ।

कर्मचारीहरूको क्षमता पहिचान गरी उचित जिम्मेवारी दिने, सामूहिक नेतृत्वको भावना जगाउने र सबैलाई समान महत्वपूर्ण दिएर अगाडि बढ्ने हो भने संस्थालाई सफलताको उचाइमा पु¥याउन सकिन्छ ।

(बलराम राई हिमालयन धितोपत्र दलाल (ब्रोकरेज) कम्पनी लिमिटेडकाे महाप्रबन्धक हुन्)

(टक्सार म्यागेजिन – २०८२ फागुन महिनामा प्रकाशित)