काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचकांकमा आधारित दुध उत्पादन बिमालेख सञ्चालनमा ल्याएको छ ।
कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमिबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न बिमालेख सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म कुल १५० दिन सम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बिमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रहि कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैँसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।
हालसम्म विभिन्न सहकारी तथा समुहका कृषकहरु गरी कुल एक हजार ६२७ गाई तथा भैँसी यस बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि(इन्स्योरेन्स बाट गरिएको छ ।
यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनाबमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैँसीको दूध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्ने जनाइको छ । बिमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्रै क्षतिपूर्ती प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरेले जानकारी दिए ।
बिमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए–नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुदाँ कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए । ।
जल तथा मौसम विज्ञान विभाग (डिएचएम) बाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख शुभाष दीक्षितले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्