केही प्रदेशमा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना


काठमाडौँ । आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको अनुमान छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।