काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ बजेटको तयारी गरिरहँदा राजस्वको मुख्य निकाय आन्तरिक राजस्व विभाग भने नेतृत्वविहीन भएको छ ।
वैशाख १४ गते तत्कालीन महानिर्देशक मदन दाहाल विदाइ भएपछि सरकारले अहिलेसम्म महानिर्देशक पठाएको छैन । सरकारले सम्पति शुद्धीकरण विभागको महानिर्देशक भने तुरुन्तै खटाएको थियो ।
बजेट निर्माणका क्रममा सरकारलाई राजस्व बढाउनुपर्ने दबाब भइरहेका बेला राजस्वमा झण्डै ६० प्रतिशत हिस्सा ओगट्ने विभाग अहिले नेतृत्वविहीन छ ।
स्रोतका अनुसार छलफलका क्रममा केही अधिकारीले ‘आन्तरिक राजस्वको महानिर्देशकले नहुँदा के फरक पर्छ र’ भन्ने गरेका छन् ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, “यो बेलामा आन्तरिक राजस्व विभागको महानिर्देशक धेरै समय खाली राख्न हुँदैन । स्रोतको दबाबका बेला राजस्व र करका दायरा केके हुनसक्छन् भनेर विभागको नेतृत्वले अपनत्व लिएर काम गर्नुपर्ने हुन्छ ।”
अहिले बजेट निर्माणका क्रममा खर्च र राजस्व सङ्कलनको पाटोमा प्रधानमन्त्री कार्यालयले समेत प्रत्यक्ष चासो देखाइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री वालेन शाह नजिकका एक ‘सल्लाहकार’ले बजेटबारे ‘ब्रिफिङ’ लिइरहेका छन् ।
महानिर्देशकमा को ?
तत्कालीन महानिर्देशक दाहाल सरुवा भएपछि दुईजनाको नाम चर्चामा छ । महानिर्देशकका लागि सहसचिव भीष्मकुमार भूसाल र बाबुराम गौतम महानिर्देशक बन्ने चर्चा छ ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न चरणमा दुईजनाको नाममा सुझाव समेत लिइसकेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका भूसाल शासकीय सुधार महाशाखा प्रमुख छन् र नीति निर्माण तथा कानुनी रूपमा प्रधानमन्त्री वालेन्द्र शाहको टिमलाई नजिकबाट सघाईरहेका छन् ।
प्रधानमन्त्री कार्यालयले भुसाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा पठाउन खोजिरहेको छ । गौतमलाई अर्थ मन्त्रालयले महानिर्देशक बनाएर पठाउन चाहेको छ । उनी ठुला करदाता कार्यालयको प्रमुख भएर पनि काम गरिसकेका हुन् ।
स्रोतले भन्यो,“अहिलेसम्म दुईजनाको नाम छलफलमा छ । अर्को राम्रो विकल्प नहुँदा दुईजनामध्ये एकजनालाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाउने सम्भावना बढी छ ।”
अहिले बागमती प्रदेश सचिव रहेका गौतम अधिकृत, उपसचिव पनि राजस्वकै हुन भने सहसचिव भएपछि ठुला करदाता कार्यालयको प्रमुख भएको अनुभव छ ।
भुसाल पनि राजस्वकै ‘क्याडर’ हुन् । उपसचिव भएपछि जापान पढ्न गएका भुसाल फर्किएर सहसचिवमा नाम निकालेका थिए । उनी बैदेशिक रोजगार विभागको महानिर्देशक थिए । राजस्वको नेतृत्वमा उनलाई कम अनुभव भएको सहकर्मीहरूले मान्छन् ।



प्रतिक्रिया दिनुहोस्