काठमाडाैँ । संसदीय समितिहरुको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन संघीय संसद सचिवालयले एकद्वार प्रणाली लागू गरेको छ ।
सार्वजनिक चासोका विषयमा संसदीय समितिहरूसँग सम्बन्धित सबै गुनासो, सुझाव वा उजुरी एउटै स्थानबाट दर्ता गर्नेगरी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरिएको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका हुन् ।
यसअघि सेवाग्राहीले सम्बन्धित समिति सचिवालयमै पुगेर मात्र गुनासो तथा उजुरी दर्ता गर्नुपर्ने अवस्था थियो । नागरिकलाई समिति कार्यालयको स्थानसम्बन्धी जानकारी नहुँदा अलमल हुने तथा समितिहरुलाई समेत उजुरी संकलन तथा व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले उक्त एकाई स्थापना गरिएको गिरीको भनाइ छ ।
एउटै विषयमा धेरै ठाउँमा उजुरी दर्ता हुँदा प्रक्रियामा जटिलता र दोहोरोपनाको समस्या देखिएको कारण एकद्धार प्रणालीमार्फत उजुरी व्यवस्थापनको कार्य अघि बढाइएको उनको भनाइ छ ।
प्रवक्ता गिरीले भने, “समितिहरुले यसअघि नै सार्वजनिक विषयसँग सम्बन्धीत विषयहरुमा उजुरी लिने गर्थे । सभाका नियमावलीमा समेत उजुरी लिनसक्ने व्यवस्था छ । यसअघि सम्बन्धीत समितिका सचिवालयहरुले उजुरी तथा गुनासो दर्ताको कामहरु गरिरहेका थिए । एउटै उजुरी पनि धेरै ठाउामा दर्ता भइरहेका छन् । त्यसकारण पनि समिति सचिवालय पनि त्यही काममा व्यस्त हुनुपरेको अवस्थालाई समेत मध्यनजर गर्नुका साथै सेवाग्राहीको कामलाई समेत मध्यनजर गर्दै एक जना प्रतिनिधि राखी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’मार्फत एकद्धार प्रणालीमार्फत काम अघि बढाउने व्यवस्था गरिएको हो ।”
उनका अनुसार एकाईले प्रणालीमार्फत उजुरी दर्ता, वर्गीकरण र सम्बन्धित समितिमा पठाउने काम समेत गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्