पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन


काठमाडाैँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा निस्किएका हुन् ।

पश्चिम एशियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडक खण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ । इन्धन र बिटुमिनको अभावका कारण नागढुङ्गा–मुग्लिङ मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्य समेत सुस्त वा ठप्प भएको अवस्था छ ।

निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा, गिटी तथा बालुवाको सहज उपलब्धता नहुनु पनि प्रमुख कारण रहेका छन् ।

निर्माण व्यवसायीहरूले यी समस्याहरूबारे सरकारलाई पटक–पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो बढिरहेको थियो । व्यवसायीहरूको गुनासो र आयोजनामा देखिएको सुस्ततालाई मध्यनजर गर्दै समस्या समाधानका लागि मन्त्री लम्सालले स्वयं अनुगमनमा सक्रियता देखाएका हुन् ।