काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले आगामी आर्थिक वर्षको बजेटले मुलुकभरका नागरिकको भावना समेट्ने र ठूला पूर्वाधार निर्माणमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स–साना आयोजनाभन्दा राष्ट्रिय आवश्यकताका ठूला आयोजनामा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद कार्कीले सोलुखुम्बुमा रणनीतिक महत्वका तीनवटा सडक र तीनवटा पुल निर्माणका लागि सरकारलाई सिफारिस गरेको जानकारी दिए ।
पर्यटकीय क्षेत्र नाम्चेमा ४ सयदेखि ५ सय जना क्षमताको सभाहल र पर्यटक सूचना केन्द्र (टुरिस्ट इन्फर्मेसन सेन्टर) स्थापनाका लागि आफूले विशेष पहल गरेको उनको भनाइ छ । सोलुखुम्बुलाई विकासका दृष्टिले ‘पूर्वको कर्णाली’ को संज्ञा दिँदै उनले विश्वकै ध्यानाकर्षण हुने पर्यटकीय क्षेत्र भएर पनि यहाँ आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गरे ।
उनले भने, “सोलुखुम्बुलाई विश्वले नै हेर्ने गर्दछ, तर यहाँ अझै पनि टेलिफोन, विद्युत्, सडक र खानेपानीजस्ता आधारभुत सुविधाहरूको राम्रो व्यवस्था हुन सकेको छैन ।”
उनले यी समस्याहरू समाधानका लागि सरकारसमक्ष माग राखेको र यस पटकको बजेट विनियोजनमा कुनै पनि प्रकारको पक्षपात नहुनेमा आफू आशावादी रहेको बताए । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा सन्तुलित बजेट ल्याउनेमा उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्