सार्वजनिक संस्थानको सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी


काठमाडौँ । सार्वजनिक संस्थानको कुल सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी छ ।

२०८२ असार मसान्तमा सार्वजनिक संस्थानको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ । यो कुल सम्पत्ति २०८१ असार मसान्तको भन्दा ९.५ प्रतिशतले वृद्धि भएको हो । २०८१ असार मसान्तमा यस्तो सम्पत्ति २९ खर्ब २८ अर्ब ९७ करोड ४६ लाख रूपैयाँ रहेको थियो ।

२०८२ असारमसान्तमा रहेको सार्वजनिक संस्थानको कुल सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी हो। २०८२ असारसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका ४५ ओटा सार्वजनिक संस्थान रहेका छन् ।

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रूपैयाँ लगानी रहेको छ । जसमा सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड २० लाख रूपैयाँ र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रूपैयाँ रहेको छ ।

२०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी(सेयर तथा ऋण लगानी) २०८१ असारसम्मको तुलनामा १३.४ प्रतिशतले वृद्धि भएको छ। सरकारले एक वर्षको अवधिमा थप ९४ अर्ब ६२ करोड ४७ लाख रूपैयाँ लगानी गरेको छ । जसमा ऋण लगानी ८९ अर्ब २३ करोड ४३ लाख रूपैयाँ रहेको छ ।

२०८१ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रूपैयाँ लगानी गरेको थियो । जसमा शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड १६ लाख रूपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड ७२ लाख रूपैयाँ रहेको थियो ।

२०८२ असारसम्म सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २७ नाफामा र १६ नोक्सानी र दुई ओटा बन्द अवस्थामा रहेका छन् । २०८१ असारसम्म सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ नोक्सानी र दुई बन्द अवस्थामा थिए।

नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०८१ ८२ मा नेपाल सरकारले ८ अर्ब ३७ करोड ७६ लाख रूपैयाँ लाभांश प्राप्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो लाभांश ८ अर्ब ८३ करोड ५६ लाख रूपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल लगानी १३.४ प्रतिशतले बढे पनि प्राप्त लाभांश भने ५.२ प्रतिशतले घटेको छ।

२०८२ असार मसान्तमा सार्वजनिक संस्थानमा स्वीकृत ३८ हजार २ सय ८५ दरबन्दीमध्ये ३० हजार ३ सय ५२ कर्मचारी कार्यरत रहेका छन्। २०८१ असार मसान्तमा कार्यरत कर्मचारीको सङ्ख्या ३४ हजार ९ सय ५१ रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको खुद नाफा १२ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख रूपैयाँ पुगेको छ। यस अवधिमा नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड ६ लाख रूपैयाँ र नोक्सानमा रहेका संस्थानको खुद नोक्सान ३ अर्ब ८० करोड ५७ लाख रूपैयाँ रहेको छ।

नाफामा रहेका संस्थानको खुद नाफा १०.६ प्रतिशतले बढेको र नोक्सानमा रहेका संस्थानको खुद नोक्सान ४.१ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा ९ प्रतिशतले बढेर एक खर्ब ५ अर्ब ४५ करोड ४२ लाख रूपैयाँ पुगेको छ।

नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्ययन प्राधिकरणको सञ्चित नाफा सबैभन्दा धेरै रहेको छ। आर्थिक वर्ष २०८० ८१ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा ४१ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७२ करोड ३६ लाख रूपैयाँ रहेको थियो।