काठमाडाैँ । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको उल्लेख गरे । उनले केही समय अघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै यो व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पारे ।
उनले कसैलाई पनि बिनाआधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राखे । गृह प्रशासनको कार्यशैलीका विषयमा चर्चा गर्दै उनले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दाबी गरे । प्रतिकुल प्रमाण नभेटिएसम्म कसैलाई पनि दोषी करार गर्न नहुने उनको तर्क छ ।
समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता प्रवृत्तिहरू स्वतः रोकिने विश्वास व्यक्त गरे ।
उनले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्