काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ । आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । यस्तै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्