मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा


काठमाडौँ । मनसुन सुरु भएसँगै इलाम जिल्ला फेरि सडक सञ्जालबाट विच्छेद हुने उच्च जोखिममा परेको छ। गत वर्षको विनाशकारी बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्ग, पुल तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण हुन नसक्दा जिल्लाको आवागमन र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले संघीय सरकारले विपद्पछिको पुनर्निर्माणमा आवश्यक बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार गत वर्ष असोज १८ र १९ गते परेको भारी वर्षाले नगरपालिकाभित्र सडक, पुल, कल्भर्ट, खानेपानी, सिँचाइ तथा कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

नगरपालिकाको प्राविधिक मूल्याङ्कनअनुसार मात्रै करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढीपहिरोका कारण ३ सयदेखि ३ सय ५० जना नागरिक विस्थापित भएका छन् भने करिब २ सय जना अझै पूर्ण रूपमा विस्थापित अवस्थामै रहेका छन्।

मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड उच्च जोखिममा

मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ। वर्षा सुरु भएसँगै उक्त क्षेत्र अझ जोखिमपूर्ण बनेको छ।

प्रमुख थापाका अनुसार पहिरो निरन्तर झरिरहेकाले सवारीसाधन लामो समयसम्म रोकिनुपर्ने अवस्था छ। कतिपय अवस्थामा यातायात नै अवरुद्ध हुने गरेको छ।

“राजदुवाली क्षेत्रमा ठूलो ल्यान्डस्लाइड भएको छ। सडक सञ्चालन गर्न कठिन भइरहेको छ। यात्रुहरूले सास्ती खेपिरहेका छन्,” उनले भने।

थापाका अनुसार नगरपालिकाको कुल बजेट ठूलो देखिए पनि अधिकांश रकम सामाजिक सुरक्षा, कर्मचारी तलबभत्ता तथा प्रशासनिक खर्चमा जाने भएकाले विकास तथा विपद् व्यवस्थापनमा सीमित स्रोत मात्रै परिचालन गर्न सकिन्छ।

गत वर्षको विपद्पछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जम्मा ६० लाख रुपैयाँ मात्रै प्राप्त भएको उनले बताए।

“४० करोडभन्दा बढीको क्षति भएको अवस्थामा ६० लाख रुपैयाँले शून्य दशमलव ५ प्रतिशत काम पनि गर्न सक्दैन,” उनले भने।

नगरपालिकाले आफ्नै स्रोतबाट कम प्राथमिकताका योजना कटौती गरी करिब २ करोड रुपैयाँको आकस्मिक कोष व्यवस्था गरेर अवरुद्ध सडक खुलाउने, राहत वितरण गर्ने तथा आधारभूत सेवा पुनः सञ्चालन गर्ने काम गरेको थियो।

‘इलामको उत्पादन बाहिर पठाउनै नसकिने अवस्था आउन सक्छ’

स्थानीय सरकारका अनुसार यस वर्ष पनि क्षतिग्रस्त सडक, पुल तथा कृषि मार्गहरूको पुनर्निर्माण नहुँदा इलामका चिया, अलैँची, दुग्धजन्य पदार्थलगायत कृषि उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुन सक्छ।

प्रमुख थापाले इलामले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिए पनि संघीय बजेटमा जिल्लाका पूर्वाधार र कृषि क्षेत्रका आवश्यकता सम्बोधन नभएको गुनासो गरे।

“गत वर्ष क्षतिग्रस्त भएको राजमार्ग अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन। मनसुन बढेसँगै जिल्ला नै सम्पर्कविहीन हुन सक्ने खतरा छ,” उनले चेतावनी दिए।

स्थानीय तहको स्रोत र साधनले मात्रै यस्ता ठूला विपद्को सामना गर्न नसकिने भन्दै थापाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।

“मध्यरातमा पहिरो जाँदा एकै परिवारका ६ जनासम्मको मृत्यु भएको घटना हामीले भोगेका छौँ। यस्ता विपद् स्थानीय सरकारको क्षमता बाहिरका विषय हुन्,” उनले भने।

पुनःस्थापना कार्य सुस्त गतिमा

इलाम नगरपालिकाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

नगरपालिकाका अनुसार अस्थायी आवासतर्फ १३२ प्रभावित परिवारमध्ये ९२ परिवारले पहिलो किस्ताबापत २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। तीमध्ये ७५ परिवारले अस्थायी आवास निर्माण सम्पन्न गरिसकेका छन् भने ६६ परिवारले दोस्रो किस्तासमेत प्राप्त गरेका छन्।

स्थायी आवास पुनर्निर्माणका लागि १६६ घरपरिवारको क्षति विवरण संकलन गरिएकोमा ५२ परिवार लाभग्राही कायम भएका छन्। हालसम्म २१ परिवारसँग सम्झौता भइसकेको छ भने अन्य लाभग्राहीको प्रक्रिया जारी रहेको नगरपालिकाले जनाएको छ।

स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग समन्वय गरी मनसुन अवधिभर सडक खुला राख्न तथा राहत उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको पनि नगरपालिकाले जनाएको छ।