१० महिनामा शिक्षाक्षेत्रबाट नेपालमा ४ अर्ब ३६ करोड रुपैयाँ भित्रियो, ठुलो हिस्सा मेडिकल शिक्षाको


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा शिक्षा क्षेत्रबाट नेपालमा ४ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म एक खर्ब २० अर्ब ५० करोड १९ लाख रूपैयाँ बाहिरिदा ४ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ नेपाल भित्रिएको हो ।

यमध्ये सबैभन्दा ठुलो हिस्सा मेडिकल शिक्षा क्षेत्रको छ । ४ अर्ब ३६ करोड रुपैयाँ मध्ये झण्डै ३५ देखि ४० प्रतिशत हिस्सा मेडिकल शिक्षाको रहेको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट चिकित्सा शिक्षा पढ्न आउने गरेका छन् । सरकारले झण्डै १० वर्षपछि अघिल्लो वर्ष मेडिकल कलेजहरूका लागि कोटा बढाउँदा मुलु्कको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा शिक्षा क्षेत्रबाट नेपालमा ३ अर्ब ८८ करोड ९२ लाख रूपैयाँ भित्रदा चालु आर्थिक वर्षको १० महिनामै ४ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको हो ।

आम्दानीको ठुलो हिस्सा ओगटे पनि मेडिकल शिक्षामा भर्ना प्रक्रिया भने झन्झटिलो छ ।

अहिले सरकारले कोटा निर्धारण गरेर विदेशी विद्यार्थीलाई भर्ना लिन अनुमति दिने गरेको छ ।

चिकित्सा शिक्षा ऐन,२०७५मा नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विदेशीले अनिवार्य रूपमा चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा फारम भर्नुपर्छ र सो फारम नभरी योग्यता पुग्ने विदेशीले कुनै पनि कलेजमा भर्ना लिन पाउँछन् ।

नेपालमा चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीले कम्तिमा तीन चरण पास गर्नुपर्छ ।

मेडिकल कलेजहरूले विदेशी विद्यार्थीको हकमा सम्बन्धित शिक्षण संस्थाले आयोगले तोकेको न्यूनतम योग्यता तथा मापदण्ड पुरा गरेको आधारमा शिक्षण संस्था आफैले प्रत्यक्ष भर्ना गर्न सक्ने व्यवस्थाको माग गर्दै आएका छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले भने,“कलेजमा भर्ना हुनुभन्दा मात्रै कुनै पनि विदेशी विद्यार्थी ३ पटक नेपाल भ्रमण गर्नुपर्छ । हामीले यो झन्झट हटाउनुपर्छ भनेका छौँ ।”

मेडिकल सञ्चालकहरूले सरकारले कोटा निर्धारणभन्दा पनि कलेजको स्रोतसाधन र क्षमताको आधारमा विदेशी विद्यार्थी भर्ना लिन पाउनुपर्ने माग गरेका गर्दै आएका छन् ।

देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले भने,“कोटा भन्दा हाम्रो स्रोतसाधनको आधारमा विदेशी विद्यार्थी पनि भर्ना गर्न पाउनुपर्छ । यसले मुलुकलाई फाइदा नै हुन्छ । नेपालीले विदेशमा पढ्न जाँदा ठुलो रकम बाहिर गएको छ । नेपालमा मेडिकल शिक्षा मात्रै यस्तो क्षेत्र हो जसले विदेशी मुद्रा भित्राउनमा ठुलो योगदान गर्न सक्छ । ”

अध्यक्ष कार्कीले विदेशी विद्यार्थी आउन सहज वातावरण निर्माण गर्न राज्य लाग्नुपर्नेमा उल्टो प्रक्रिया नै झन्झटिलो बनाइएको गुनासो गरे ।

उनले भने,“हामी मेडिकल शिक्षा अध्ययन गर्ने जति पनि विद्यार्थी भित्राउन सक्छौँ तर सरकारले यस्तो अव्यवहारिक व्यवस्था गरिदिएको छ कि उल्टो नेपालमा पढ्नका लागि रोक्न खोजेको जस्तो देखिन्छ ।”