नेपालको समस्या स्रोतको अभाव मात्र हाेइन: उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लले नेपालको समस्या स्रोतको अभाव मात्र नभएकाे बताएका छन् । आइतबार रास्वपाकाे महाधिवेशन उद्घाटन कार्यक्रमममा उनले नेपालको समस्या स्रोतको अभाव मात्र हाेइन, समस्या सम्भावनाको अभाव पनि नभइ हाम्राे समस्या गलत प्रोत्साहनकाे संरचना भएकाे बताएका हुन् ।

राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बनेकाे उनले बताए । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बनेकाे उनकाे भनाइ छ ।

“राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउने भन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन। यो राजनीतिक संस्कार परिवर्तनको अभियान हाे,” उनले भने , “हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहान्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ।”

उनले प्रतिस्पर्धी अर्थतन्त्र चाहेकाे बताए । “हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्; जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्,” उनले भने, “हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस्। हामी यस्तो सक्षम राज्य चाहन्छौँ, जसले नागरिकमाथि शासन नगरोस्, नागरिकको सेवा गरोस्; जसले अनावश्यक दुःख नदियोस्, तर आवश्यक पर्दा भरोसायोग्य साथ दिओस्।”

उनले युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नभइ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाउने नेपाल चाहेकाे बताए ।

“यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्,” उनले भने, “हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ, जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्; जसले आफ्ना नागरिकको क्षमता, आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै २१औँ शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस्।”