नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छिन् । 

आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ प्रवचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जङ्गबहादुर राणाले महत्वपूर्ण भुमिका निर्वाह गरेकाे उनकाे भनाइ छ ।

दक्षिण एशियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणालाई दिनुपर्ने बताइन् । उनकाअनुसार जङ्गबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए ।

त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबिचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको उनले बताइन् । नेपाल–ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कुटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उनले उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उनको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताइन् ।

उनले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताइन् ।

राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उनको भनाइ थियो । 

जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन शुरुवात गरेको पनि उनले बताइन् । राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा लिन सकिने उनको भनाइ छ ।

यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित भएको र आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको बताइन् ।

त्यसलाई सोही समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । भण्डारीले जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय रहेको बताइन् ।

तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जङ्गबहादुरले नै गरेको उनको भनाइ छ । उनले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन् ।