मनसुनजन्य विपद्बाट २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, सशस्त्र प्रहरीको व्यापक तयारी


काठमाडौं । यस वर्षको मनसुनमा देशभर करिब दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएसँगै सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनजन्य विपद्बाट करिब ५१ हजार ८८६ घरधुरी प्रभावित हुन सक्ने आँकलन गरिएको छ। सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५१ हजार ६२६ जना प्रभावित हुने अनुमान छ भने कोशीमा ३८ हजार ७३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिममा ३३ हजार २२७ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशका ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। साथै, १६ स्थानमा स्थायी विपद् व्यवस्थापन बेसमार्फत जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार मनसुनजन्य विपद्सँग जुध्न ८ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। बाढी तथा डुबान प्रभावित क्षेत्रका लागि ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटर बोट, ४ हजार ७१० जना दक्ष जनशक्ति र १३४ जना गोताखोरलाई जोखिमयुक्त स्थानमा परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।

विपद्का घटनाबारे समयमै सूचना प्राप्त गर्न सशस्त्र प्रहरीले एक लाख ६८ हजार ९५६ जना विपद् सूचकसहितको सञ्जाल निर्माण गरेको छ। साथै ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याएर विपद्सम्बन्धी सूचना तत्काल परिचालन कक्षसम्म पुग्ने व्यवस्था मिलाइएको जनाएको छ।