प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पेश


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष प्रस्तुत गरेका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै सांसदबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक पेश गर्न अनुमति दिएका थिए।

विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र तथा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र बजार हेरफेर (मार्केट म्यानुपुलेसन) जस्ता आर्थिक अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए।

उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय तथा बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूको अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थमन्त्री वाग्लेले संसदको अधिवेशन नचलेका बेला जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण ९तेस्रो संशोधन० अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको जानकारी दिँदै संविधानको धारा ११४ को उपधारा (२) को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (ग) अनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न तोकिएको समयभित्र विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यो विधेयक प्रस्तुत गरिएको स्पष्ट पारे।