सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरूलाई प्रहरीले रोक्यो


काठमाडाैँ । माईतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोकेको छ । लामो समयदेखि माईतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरु बिहीवार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरुलाई प्रहरीले बिच बाटोबाट नै फर्काइदिएको हो ।

दृष्टिविहीनहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरुले सिंहदरबार घेराउको रणनीति बनाएका थिए । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरु सरकारले व्यवसाय गर्न नदिएको भन्दै ११ दिनदेखि धर्ना दिइरहेका छन् ।

सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।

माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृष्टिविहीन साधन सुब्बाले बताए । उनले बुधबार नेकपा एमालेको पार्टी कार्यलय अगाडी धर्ना दिएको पनि जानकारी दिए । आफूहरूको मागमा एमालेले ऐक्यवद्धता जनाएपनि धर्ना सहज रुपमा गर्न नदिएको उनको गुनासो छ ।
उनले एमालेको पार्टी कार्यलयमा दिएको धर्ना भने सफल भएको बताए । एमालेले आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।