चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाइ, तीनजनामा को बन्ला ?


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिमा सरकारले ढिलाई गरेको छ ।

सिफारिस समितिबाट तीनजनाको नाम लगभग टुङ्गिए पनि नियुक्तिमा ढिलाइ भएको हो । उपाध्यक्ष नियुक्ति ढिलाइ हुँदा चिकित्सा शिक्षाको क्यालेन्डर प्रभावित हुने जोखिम बढेको छ ।

आयोगले डाइरेक्टर खटाएर निरीक्षण गरेपछि मात्रै मेडिकल कलेजमा कोटा तोकेर शैक्षिक गतिविधि अगाडि बढाउने व्यवस्था छ । उपाध्यक्ष नियुक्ति भएपछि आयोगमा डाइरेक्टर नियुक्ति हुनेछन् र त्यसपछि मेडिकल कलेजको कोटा निर्धारणका लागि निरीक्षणमा जानेछन् ।

निरीक्षणपछि सरकारले २०२६ को मेडिकल अध्ययनका लागि कोटा तोक्ने छ ।

आयोगले प्रत्येक वर्ष एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर मेरिट सूची तयार गर्छ, त्यसपछि सीट निर्धारण, म्याचिङ र भर्ना गर्ने चलन हुन्छ ।

२०८३/८४ शैक्षिक कार्यक्रमका लागि भदौको पहिलो हप्ताभित्र आवेदन, प्रवेश परीक्षा असोजको तेस्रो हप्ता र असोज अन्त्यसम्म प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिसक्नुपर्छ । अन्तिम भर्नाको समय माघ दोस्रो हप्तासम्म पूरा गरिसक्नुपर्छ । यद्यपी अहिलेसम्म उपाध्यक्ष नियुक्ति भएको छैन ।

उपाध्यक्ष नियुक्तिका लागि १ नम्बरमा प्रा.डा.गेहनाथ बराल, २ नम्बरमा प्रा.डा. देवेन्द्रबहादुर खत्री र तेस्रो नम्बरमा हाल आयोगका निमित्त उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सिफारिस भएको स्रोतको दाबी छ ।

एक नम्बरमा सिफारिस भएका प्रा.डा. बराल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पूर्वअध्यक्ष हुन् । प्रा.डा. खत्री नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् । प्रा.डा. खत्री हाल नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।

उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका थिए ।

दर्खास्त हाल्नेमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ,प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधान थिए ।

गत १९ वैशाखमा अध्यादेशबाट १२ चैत अघि भएका नियुक्ति हटाउने अध्यादेश ल्याउँदा तत्कालीन उपाध्यक्ष रहेका प्राडा अञ्जनीकुमार झा हटेपछि नयाँ उपाध्यक्ष नियुक्त गर्न लागिएको हो ।