५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछः मन्त्री रावल


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणवद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छिन् । 

सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरिन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थान र नदी किनाराबाट हटाइएका तथा हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलले उल्लेख गरिन् ।

उनकाअनुसार तत्कालको राहत स्वरूप प्रतिपरिवार २५ हजार रूपैयाँ र तीन महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रूपैयाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको छ । यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढाइरहेको उनले जानकारी दिइन् । 

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रश्तुत गर्दै मन्त्री रावलले हालसम्म १ लाख ३ हजार १४० भूमिहीन दलित, १ लाख ८६ हजार ८६० भूमिहीन सुकुम्बासी र ९ लाख ५४ हजार ६५ अव्यवस्थित बसोबासी गरी कुल १२ लाख ४७ हजार ४६९ निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताइन्। 

जग्गा प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारले डिजिटलाइजेशनलाई तीव्रता दिएको मन्त्री रावलले बताइन् । जग्गा प्रशासन सम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने लक्ष्य अनुरूप हालसम्म ६ वटा स्थानीय तहबाट सेवा शुरु भइसकेको उनले जानकारी दिइन् । 

नापी र भूमि प्रशासन कार्यालयहरूमा अनधिकृत व्यक्तिको पहुँचलाई पूर्ण रूपमा निषेध गरिएको दाबी गर्दै मन्त्री रावलले सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता न्युनिकरणका लागि डिजिटल पूर्वाधार सुदृढ गरिने उल्लेख गरिन् । 

सरकारले वैज्ञानिक भूमिसुधार र भू–उपयोग नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको बताउँदै मन्त्री रावलले कृषियोग्य भूमिको संरक्षण र जग्गाको खण्डीकरण नियन्त्रणमा जोड दिइएको स्पष्ट पारिन् । स्थानीय तहमा भू–उपयोग योजना तर्जुमा गरी भूमि व्यवस्थापनलाई उत्पादनसँग जोड्ने कार्यक्रमहरू अगाडि बढाइएको उनको भनाइ थियो ।