काठमाडौँ । वागमती प्रदेश सरकारले प्राविधिक उच्च शिक्षातर्फ छनोट भएका ७ जना सीमान्तीकृत तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले छात्रवृत्ति वितरण गर्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ नरोकिने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
“जीवनयापनका लागि तपाईंहरू संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन वागमती प्रदेश सरकार छ,” भन्दै उनले संघीय छात्रवृत्ति नीतिले नसमेटेका विपन्न तथा सिमान्तीकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारले आफ्नै नीतिमार्फत समेटेको बताए।
मुख्यमन्त्रीको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ लागू गर्दै कार्यक्रम सञ्चालन गरेको हो। पहिलो चरणमा मेडिकल, सिभिल इन्जिनियरिङ, भेटेरिनरी र कृषि विषयमा अध्ययन गर्ने ७ जना विद्यार्थी छनोट भएका छन्।
छात्रवृत्ति रकम सम्बन्धित शिक्षण संस्थाको खातामा तीन किस्तामा भुक्तानी गरिनेछ। छात्रवृत्तिमा अध्ययन पूरा गरेका विद्यार्थीले वागमती प्रदेशभित्र सार्वजनिक सेवामा कम्तीमा एक वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री बानियाँले यो कार्यक्रमलाई आर्थिक सहायता मात्र नभई प्रदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन योजना भएको उल्लेख गर्दै आर्थिक अभावका कारण प्राविधिक शिक्षाबाट वञ्चित हुने अवस्था अन्त्य गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्