काठमाडौँ । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको वल्र्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रम मार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीले जनाएको छ ।
वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडकी प्रवर्धक तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको नेतृत्व, अवधारणा र योजनाअनुसार विगत केहि वर्षदेखि उक्त सचेतना कार्यक्रमको सुरुवात गरिएको हा ।
वल्र्डलिंक स्वयं इन्टरनेट सेवा प्रदायक संस्था भए पनि आफ्नो क्षेत्रसँग सम्बन्धित चुनौती र समस्याहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्दै विद्यालयका विद्यार्थी तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कुरा भण्डारी जालानले उल्लेख गरीन ।
जालानकाअनुसार यो सचेतना कार्यक्रम हाल विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन हुँदै आएको छ ।
यस अभियानले विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी प्रदान गर्नुका साथै सुरक्षित तथा जिम्मेवार अनलाइन व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीहरू यस सचेतनामूलक तालिमबाट लाभान्वित भएका थिए ।
तालिम पश्चात् विद्यार्थी, शिक्षक तथा अभिभावकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागका आधारमा यस्ता कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरिएको कम्पनीको भनाई छ ।
कम्पनीले भनेको छ,“समुदायको अनुरोध तथा इन्टरनेटसँग सम्बन्धित जोखिमप्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै वल्र्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत यसै आर्थिक वर्षदेखि कार्यक्रमलाई थप समुदायमा विस्तार गरिएको छ। यस पहलले समुदायलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार तथा प्रभावकारी प्रयोगतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।”
कार्यक्रममा प्रयोग हुने तालिमका बिषयवस्तु नेपाल प्रहरीको साइबर व्युरोद्वारा अध्ययन गरी विद्यालय र समुदायस्तरमा प्रयोगका लागि अनुमोदित भएको र यसले कार्यक्रमको गुणस्तर, विश्वसनीयता र प्रभावकारितालाई थप सुदृढ बनाउनेमा विश्वास, भण्डारी जालानले व्यक्त गर्नु गरेकी छन् ।
वल्र्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलमा महिला मानव अधिकार संस्था, काठमाडौँ महानगरपालिका वडा नं ९ र १० र टोखा नगरपालिकाको सम्पूर्ण वडाहरूसँग सहकार्यमा सञ्चालन गरिएका कार्यक्रमहरूमा महिला स्वास्थ्य स्वयंसेविका र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रम अन्तर्गत, यस वर्ष समुदायस्तरमा कुल १२ वटा तालिम सत्र सञ्चालन गरिएका थिए। सहभागीहरूलाई जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक ज्ञान तथा अन्तरक्रिया प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्