जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँगको छलफलमा उनले यस्तो बताएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै जानकारी दिएका हुन् ।

उनकाअनुसार प्रधानमन्त्री शाहले जैविक कृषिको उत्पादन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गरेका हुन् । भेटका क्रममा आफूहरुले जैविक कृषि प्रवर्द्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको बताए ।

अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन र निर्यातमा देखिएका चुनौती तथा नीतिगत सुधारको आवश्यकता प्रधानमन्त्रीसमक्ष लिखित रुपमा बुझाएको बताए । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताउनुभएको उनले जानकारी दिए ।

हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मलसरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेको बताए । उनले जैविक प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था स्थापना गर्न तथा रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग समेत राखेको बताएका हुन् । जवाफमा प्रधानमन्त्री शाहले अग्र्यानिक कृषि क्षेत्रमा देखिएका समस्या हल गर्न तत्काल कदम चाल्ने आश्वासन दिएको उल्लेख गरे ।

उनले भने, “रासायनिक मललाई जस्तै जैविक मलमा समेत अनुदान दिनप¥यो भन्ने हाम्रो मुख्य माग थियो । अग्र्यानिक प्रमाणिकरण धेरै खर्चिलो छ । त्यसमा अनुदानको कुार थियो । निर्यातमा समेत हामीले पाइराखेको अनुदान अहिले रोकिएको छ । त्यो पनि पाउनुपर्छ भन्ने कुरा थियो । र नेपालमै एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था चाहियो भन्ने कुरा राख्यौँ । अहिले प्रमाणिकरणको काम नेपालबाट हुँदैन । हामीले भारत, अमेरिका, जर्मनी, अष्टे«लिया लगायतका देशहरुबाट सर्किफिकेशन लिने गरेका छौँ जुन एकदमै खर्चिलो रहेको छ । यसको समाधानको लागि प्रधानमन्त्रीज्यूले के गर्न सकिन्छ ? प्रक्रिया अगाडि बढाउनुस् भनेर निर्देशन दिनुभएको छ ।”

गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले आफूले अग्र्यानिक चियामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राखिरहेको भएपनि विगतका सरकारबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको बताए । उनले सरकारले उत्पादनभन्दा लगानीलाई बढी प्राथमिकता दिने गरेको गुनासो समेत प्रधानमन्त्री साहलाई सुनाएको उल्लेख गरे ।

उनले भने, “प्राङ्गारिक चिया बनाएर अहिले हामीले देशको इज्जत राखिरहेका छौँ । म आफैं पनि गोर्खा टी स्टेटबाट तीन, चार वटा देशमा चिया निर्यात गरिरहेको छु । हामी निजी क्षेत्र कुनैपनि कुरामा लगानी ग¥यौं भने रिजल्टको रुपमा हेर्छौँ । तर सरकारले रिजल्टलाई नभई खर्च मात्र हेर्ने रहेछ । हामीलाई विश्व व्यापार संगठनबाट प्राङ्गारिक चिया बनाउन १८ करोड रुपैयाँ अनुदान आएको थियो । ६ करोड त फर्केर गयो । आज प्रधानमन्त्रीज्यूसँगको छलफलले सकारात्मक उर्जा आएको छ । नेपाल प्राकृतिक रुपमा धनि छ । नेपालको सबै प्राकृतिक तथा जैविक कुरालाई विश्वबजारमा पु¥याउन सहयोग गर्नुभयो भने हामी प्रधानमन्त्रीज्यूसँग धेरै आभारी हुनेछौँ ।”

प्रधानमन्त्रीहरूसँगको छलफलले उद्योगीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै व्यवसायीहरुले नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पु¥याउन सरकारले मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।