काठमाडाैँ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराएका हुन् ।
प्रवक्ता क्षेत्रीकाअनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ । २०८३ असार २९ देखि शुरु भएको नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ ।
हाल राहदानी विभागसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू देखिएको स्वीकार गर्दै प्रवक्ता क्षेत्रीले ती समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको बताए । छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शिघ्र पु¥याउन मन्त्रालयले हुलाक विभागसँग कार्य सम्झौता गरिसकेको छ । यस व्यवस्थाले राहदानी वितरण प्रक्रियामा हुने ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको बताए ।
मन्त्रालयले राहदानी सेवामा थप सरलीकरण गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रिया शुरु गरिसकेको जानकारी समेत दिएको छ । यसअघि स्थायी ठेगाना भएका जिल्ला वा काठमाडौँबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई थप सहज हुनेछ ।


प्रतिक्रिया दिनुहोस्