काठमाडौँ । विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले विज्ञप्ति जारी गदै । घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो ।
महासङ्घले जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, सम्वाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महाङ्घको दृढ विश्वास रहेको जनाएको छ ।
महासङ्को विज्ञप्तिमा भनिएको छ, “नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ ।
तराईमधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो । कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन ।”
यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउने उल्लेख गर्दै महासङ्ले सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त भएको स्मरण गराएको छ ।
सुनसरीको कप्तानगञ्ज लगायतका स्थानहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग जोडदार माग गरेको छ ।
साथै, कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन र परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन सबैमा हार्दिक अपिल महासङ्घले गरेको छ ।
महासङ्घले भनेको छ,,“अन्तमा,तराईका क्षेत्रमा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिनुहुन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक आह्वान गर्दछ ।”


प्रतिक्रिया दिनुहोस्