प्रधानमन्त्री शाहको देशवासीका नाममा सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनापछि देशवासीको सम्बोधन गरेका छन् ।

आज साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली आकाशमा मडारिएको अशान्तीको बादल हटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सुनसरी र मधेशका जिल्लामा भएको घटनाको निष्पक्ष र पारदर्शी छानविन हुने बताएका छन् । उनले भने,“ म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री शाहले केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए ।

स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको र स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक बसिसकेको तथा स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको प्रधानमन्त्री काहको भनाई छ ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न अपिल गर्दै प्रधानमन्त्री शाहले भने,“सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौँ ।”

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए ।

कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने उनको भनाई थियो । उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरे ।