देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै


काडमाडौँ । नेपाली सांस्कृतिक परम्पराअनुसार आज साउन १५ गते देशभर खीर खाएर मनाइएको छ ।

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भागमा आज खीर खाने पर्व विशेष उत्साहका साथ मनाइएको हो । नेपाली समाजमा साउन १५ लाई खीर खाने दिनका रूपमा विशेष महत्वका साथ लिने गरिन्छ । यस अवसरमा घरघरमा खीर पकाएर पारिवारिक जमघटसहित खाने र खुवाउने परम्परा रहेको छ ।

विशेष गरी वर्षायामको मध्य समयमा शरीरलाई ऊर्जा र स्फूर्ति प्रदान गर्न खीर खाने प्रचलन रहिआएको छ । वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिनलाई नेपाली समाजमा खीर खाने विशेष पर्वका रूपमा लिने गरिन्छ । असार महिनाभर धान रोपाइँ सकेर फुर्सदिला भएका कृषकले साउन १५ मा शक्ति र ऊर्जा प्राप्तिका लागि खीर खाने मौलिक परम्परा रहिआएको छ ।

दुध, चामल, घिउ, चिनी तथा विभिन्न मरमसलाको सम्मिश्रणबाट तयार गरिने खीरलाई नेपाली संस्कृतिमा शुद्ध र पौष्टिक भोजनका रूपमा मानिन्छ । कृषिप्रधान देश नेपालमा रोपाइँको थकान मेटाउन र वर्षातको समयमा शरीरलाई स्वस्थ राख्न खीर खाने चलन शुरु भएको विश्वास गरिन्छ ।

यस दिन परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई हर्षोल्लासका साथ खीर खाने र आपसी आत्मीयता साटासाट गर्ने गरिन्छ । पछिल्लो समय यस दिनलाई राष्ट्रियस्तरमै सांस्कृतिक महत्वको पर्वका रूपमा मनाउन थालिएको छ ।आज मुलुकभरका सर्वसाधारणले आफ्ना परिवार, आफन्त र इष्टमित्रसँगै खीर खाएर यो उत्सव मनाएका छन् ।