काठमाडाैँ । सार्वजानिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो ।
विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिबार र आइतबार सार्वजानिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ ।
आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरुको विभागमा भीड लागेको छ । विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् ।
विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे ।
इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौँ आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ । उनले शुरुमा आवेदन दिन नै वेबसाईट नखुलेर मुस्किल परेको बताए ।
आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिएपनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे ।
उनले भने, “इपिएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानी सम्म आइयो । म आएको एक हप्ता जति भइसक्यो, शुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो । फर्म भर्न नै दुई तीन दिन लाग्यो, बल्ल फर्म भरियो, बिहान ६ बजे देखि लाइन लागेर साझको ५ बजे तिर मैले अप्लाई गरेको थिए, पासपोर्टको लागि । बुधवार अप्लाई गरेको थिए, मलाई तीन दिनपछि आउनु भन्नुभएको थियो । नभए म्यासेज आउँछ, म्यासेज आएपछि आउनु भनेको थियो तर म्यासेज पनि आएको आएकै छैन । अनि तिन दिन भइसक्यो । यो इमरजेन्सीमा २४ आवरमा काम हुनुपर्ने हो । २४ आवर भित्र हुने कामलाई तिन दिन भइरहेको छ, कोहि झन् हप्ता दिनदेखि नै यहाँ धाउनु परिरहेको छ । अहिलेसम्म पासपोर्टको पाएको छैन, दैनिक लाइनमा लाग्नु परेको छ । हाम्रो सरकारको खै के हो ? नीति नै यस्तै हो कि अब कर्मचारीहरुले नै हाम्रो काम ढिलो गरिदिएको हो कि ? जे होस् छिटो हुनुप¥यो । हाम्रो इपिएसको फर्म २० गतेसम्म मात्र छ । यदि २० गते भित्रमा हाम्रो पासपोर्ट हातमा आएन भने त हामीलाई धेरै समस्या पर्छ नि । हाम्रो फर्म छुट्यो भने झन् यो वर्ष त्यत्तिकै वेस्ट भइहाल्छ ।”
राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेकाअनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटी देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् ।
उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए । उनले इपिएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताए ।
प्राविधिक त्रुटी देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए । निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिए ।
उनकाअनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भईसकेको उनले बताए । बञ्जाडेकाअनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो ।
त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गरे ।
उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए । विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उनले जानकारी दिए । तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन आग्रह गरे ।
विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरि वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
विभागकाअनुसार पहिला सिफ्ट विहान ७ देखि दिउसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिबार र आइतबार सार्वजानिक विदाको दिनमा समेत विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्