डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन्।

उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे । डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै उनले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताए।

यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा संसदमा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे । 

संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत दिए ।