देशभर मनसुनी वायुको प्रभाव, विभिन्न ठाउँमा वर्षा


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि सातै प्रदेशका विभिन्न भूभागमा पानी परिरहेको छ ।

दिउँसो हिमाली केही स्थान र पहाडी भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।