जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ


काठमाडाैँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उनले चाहना हुँदाहुँदै पनि सेवा दिन नसकेको बताएका हुन् ।

उनले बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै साइबर अपराध तिब्र रूपमा बढिरहेको बताए । साइबर सम्बन्धी मुद्दा प्रत्येक वर्ष बढ्दै गएको उल्लेख गर्दै उनले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गरे ।

साइबर अपराधका उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानूनी नियमनका कारण अपेक्षाभन्दा लामो समय लाग्ने उनको भनाइ छ । उनले साइबर अपराध नियन्त्रणका लागि कानून निर्माण र नियमन मात्र पर्याप्त नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहसहित सबै सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिकको साझा जिम्मेवारी आवश्यक रहेको बताए ।

उनकाअनुसार साइबर अपराध न्युनिकरणका लागि कानून कार्यान्वयनभन्दा पनि जनचेतना अभिवृद्धि प्रभावकारी उपाय हो । सामाजिक सञ्जाल प्रयोग गर्दा अधिकारसँगै जिम्मेवारी र कर्तव्यबारे पर्याप्त सचेतना नहुँदा साइबर अपराधका घटना बढिरहेको टिप्पणी उनको भनाइ छ । सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार भएर गर्नुपर्नेमा जोड दिए।

गृहसचिव श्रेष्ठले सामाजिक सञ्जाल र साइबर अपराधको प्रभावकारी व्यवस्थापन हुन नसके राष्ट्रिय सुरक्षामाथिको चुनौती झन् गम्भीर बन्दै जाने उल्लेख गरे । साइबर सुरक्षालाई आगामी दिनमा राष्ट्रिय सुरक्षा सुदृढीकरणको प्रमुख प्राथमिकताका रूपमा लिएर प्रभावकारी नियमन र क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।