काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने भएको छ।
परियोजनाको पुनःस्थापना र दिगो सञ्चालनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) का कार्यकारी निर्देशक नवराज ढकालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार परियोजनाका लागि आवश्यक वित्तीय स्रोत विश्व बैंकको ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’मार्फत जुटाइनेछ। एईपीसीले पुनः सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको र बजेट सुनिश्चित भएको जनाएको छ।
करिब १ करोड ८० लाख रुपैयाँको युरोपियन युनियन सहयोगमा निर्माण भएको यो परियोजना केही समय सञ्चालनपछि बन्द भएको थियो।
एईपीसीका अनुसार हालसम्म सात नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना सञ्चालनमा आइसकेका छन् भने आगामी दिनमा काठमाडौंसहित अन्य स्थानीय तहमा पनि यस्ता परियोजनालाई विस्तार गरिनेछ।
फोहोरबाट ऊर्जा उत्पादन र जैविक मल निर्माणमार्फत शहरी फोहोर व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्