बाढीले रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रका संरचनामा क्षति


काठमाडौँ । रसुवामा बुधबार आएको बाढीले जलविद्युत् आयोजना र विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण विद्युत् उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीले रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रका संरचनामा क्षति पुर्‍याएको छ। यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा समेत बाढीको असर परेको प्राधिकरणले जनाएको छ।

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनामा क्षति पुगेपछि त्यसको प्रत्यक्ष असर विद्युत् आपूर्तिमा परेको हो।

यससँगै रसुवामा बाढीले जलविद्युत् आयोजनाका संरचनासँगै सडक, पुल र घरलगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।