बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिन स्टारलिङ्क तयार, सरकारको अनुमतिको प्रतीक्षामा


काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्टारलिङ्कले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ।

स्टारलिङ्कले सामाजिक सञ्जालमार्फत नेपाल र तिब्बत सीमावर्ती क्षेत्रका बाढी प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न आवश्यक उपकरण पठाउन तयार रहेको जनाएको हो। तर, त्यसका लागि नेपाल सरकारको अनुमति आवश्यक पर्ने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार सडक, पुल तथा मोबाइल नेटवर्क अवरुद्ध वा नष्ट भएको अवस्थामा उद्धार टोलीबीच समन्वय, घाइतेको उपचार तथा बेपत्ता आफन्तसँग सम्पर्क स्थापित गर्न स्याटेलाइट इन्टरनेट महत्वपूर्ण हुन सक्छ।

स्टारलिङ्कले विद्युत् स्रोत र आकाशको स्पष्ट दृश्य उपलब्ध भएमा आफ्नो किट जडान गरेको केही मिनेटमै उच्च गतिको र न्यून विलम्बता भएको इन्टरनेट सेवा सञ्चालन गर्न सकिने जनाएको छ।