काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिए ।
जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उनले जानकारी दिए । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उनको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उनले बताए।
उनकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उनले जानकारी दिए । पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ ।
पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उनले बताए । नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्नेबेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुनःस्थापना गर्ने तयारी रहेको उनले जानकारी दिए । पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उनले बताए ।
उनले गल्छी–स्याफ्रुबेसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको बताए । बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ । नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा मिसिएको उनले जानकारी दिए।
बगेको सडकखण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उनको भनाई छ । उनले रसुवाको सदरमुकाम धुञ्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिए । बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उनको भनाई छ । तर मैलुङ–स्याफ्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
चीनको तिब्वतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन । विभागले प्रारम्भिक चारण्मा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भईरहेको विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्