काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लक्षित नयाँ ‘बिज–२४’ म्यानेज्ड वाइफाई सेवा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार व्यवसायिक क्षेत्रका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यो सेवा व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान तथा भरपर्दो वाइफाई कभरेज उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो ।
क्लाउडमार्फत वाइफाई नेटवर्क व्यवस्थापन गर्न सकिने यस सेवासँगै प्राथमिकतायुक्त प्राविधिक सहयोग पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
वल्र्डलिंकले विभिन्न साना तथा मध्यम व्यवसायका सञ्चालकसँगको प्रत्यक्ष छलफल र फिल्ड परीक्षणपछि ‘बिज–२४’ विकास गरेको जनाएको छ ।
कम्पनीका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका अधिकांश साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट सेवामै निर्भर छन्, जसका कारण कार्यालयका केही भागमा वाइफाई नपुग्ने, महत्त्वपूर्ण समयमा इन्टरनेट अवरुद्ध हुने तथा नेटवर्क व्यवस्थापनमा कठिनाइ हुने समस्या देखिने गरेको छ ।
राजभण्डारीले यिनै चुनौतीलाई समाधान गर्ने उद्देश्यले ‘बिज–२४’ ल्याइएको बताउँदै यसले व्यवसायहरूलाई थप भरपर्दो, व्यवस्थित तथा व्यवसायिक स्तरको इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने बताए। उनका अनुसार क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो तथा को–वर्किङ कार्यालयजस्ता विभिन्न व्यवसायका आवश्यकतालाई ध्यानमा राखी यो सेवा डिजाइन गरिएको हो ।
‘बिज–२४’ अन्तर्गत व्यवसायिक परिसरको आकार, संरचना र आवश्यकताअनुसार उपयुक्त वाइफाई समाधानको योजना तथा सुझाव उपलब्ध गराइन्छ । यसले एउटै राउटरमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्पूर्ण कार्यक्षेत्रमा समान कभरेज सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, सेवा प्रयोगकर्ताले प्राथमिकतायुक्त प्राविधिक सहयोग पनि प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ‘बिज–२४’ ले उच्च गतिको वाइफाई सेवा उपलब्ध गराउनुका साथै व्यवसाय विस्तारसँगै नेटवर्क विस्तार गर्न सकिने सुविधा पनि प्रदान गर्छ ।
सेवामा पब्लिक स्ट्याटिक आइपी पनि समावेश गरिएको छ, जुन सिसिटिभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना–प्रविधि सेवाका लागि उपयोगी हुने बताइएको छ ।
वर्ल्डलिंकले ‘बिज–२४’ सेवा राइज, ग्रो र प्रो गरी तीनवओटा प्याकेजमा उपलब्ध गराएको छ ।
‘बिज–२४’ सेवाको वार्षिक शुल्क मूल्य अभिवृद्धि करबाहेक ३० हजार रुपैयाँबाट सुरु हुने बताइएको छ । सबै प्याकेजमा व्यवसायिक स्तरको राउटर, पब्लिक स्ट्याटिक आइपी तथा प्राथमिकतायुक्त सहयोग सेवा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्