रास्वपा सचेतक धितालको अभिव्यक्तिविरुद्ध जेनजी शहीद परिवार आक्रोशित, माफी माग्न माग


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी शहीद स्मृति दिवसका विषयमा दिभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेन–जी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ । 

प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद, घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका हुन् ।

उनीहरूले सत्तारुढ रास्वपा संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन् । समाजका अध्यक्ष तथा जेनजी शहीद धीरजका बुवा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई ‘कन्सर्ट’को संज्ञा दिनु आपत्तिजनक भएको बताए।

शहीद परिवार तथा घाइतेहरूले भोगेको पीडालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताए । धितालले सार्वजनिक रूपमा आत्मालोचना र स्पष्टिकरणसहित माफी माग्नुपर्ने तथा रास्वपाले पनि उक्त अभिव्यक्तिबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

श्रेष्ठले रास्वपाले आवश्यक अनुशासनात्मक कारबाही अघि बढाउनुपर्ने र भविष्यमा शहीद, घाइते तथा शहीद परिवारको भावनामा चोट पुग्ने अभिव्यक्ति नदिन सबै राजनीतिक दल र जनप्रतिनिधिलाई सचेत गराउनुपर्ने माग गरे । 

उनले भने, “शहीदको बलिदान कुनै कन्सर्ट होइन, कुनै मनोरञ्जन होइन र कुनै राजनीतिक प्रचारको विषय पनि होइन । यो देशको इतिहासमा लेखिएको रगतको मूल्य हो ।”

उनले माग सम्बोधन नभए रास्वपा संसदीय दलको कार्यालय तथा पार्टी कार्यालय घेराउलगायत शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । 

समाजका उपाध्यक्ष वसन्तकिशोर श्रेष्ठले पनि धितालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे । उनले भाद्र २३ गते आयोजना गरिएको जेनजी शहीद स्मृति दिवस कार्यक्रममा शहीद परिवारले दीप प्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली र न्यायको मागसहित कार्यक्रम गरेको बताए ।

उनले शहीद परिवारको वार्षिक स्मृति सभालाई ‘कन्सर्ट’का रूपमा चित्रण गर्नु खिसीट्युरीपूर्ण भएको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठले शहीद परिवारको पीडा बुझ्न र उनीहरूप्रति समवेदना प्रकट गर्नसमेत नआएका व्यक्तिले स्मृति दिवसबारे टिप्पणी गर्नु उचित नभएको बताए । रास्वपाले आफ्नी सचेतकको अभिव्यक्तिबारे गम्भीर रूपमा सोच्नुपर्ने उनकाे माग छ । 

समाजका कोषाध्यक्ष गणेश चौलागाईंले पनि धितालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपा र पार्टी नेतृत्वसमक्ष आफ्ना माग पु¥याउने बताए । उनकाअनुसार जेनजी शहीद स्मृति दिवस घाइते र शहीद परिवारको मात्र नभई समग्र जेन–जी समुदायको कार्यक्रम थियो ।

घाइते जेनजी योद्धाहरूले स्वयंसेवकका रूपमा कार्यक्रम सम्पन्न गरेको उनले बताए । चौलागाईंले धितालले तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने र रास्वपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

त्यसका लागि समाजले रास्वपा संसदीय दलको कार्यालयमा विरोधपत्रसमेत बुझाउने तयारी गरेको उनले जानकारी दिए । माग सम्बोधन नभए पार्टी कार्यालयमा धर्ना तथा अन्य शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

जेनजी घाइते अशोकले भाद्र २३ गतेको स्मृति दिवस समग्र जेन–जी आन्दोलनसँग सम्बन्धित कार्यक्रम भएको उनकाे भनाइ छ । कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न घाइते जेनजी योद्धाहरूले स्वयंसेवकका रूपमा भुमिका निर्वाह गरेको उनको भनाइ छ ।

उनले कार्यक्रमका विषयमा आलोचना गर्नुअघि त्यसको उद्देश्य र शहीद परिवार तथा घाइतेहरूको भावनालाई बुझ्नुपर्ने बताए । धितालले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने उनको माग छ ।

जेनजी शहीद परिवार कल्याणकारी समाजले शहीद तथा घाइतेहरूको सम्मान, उनीहरूको योगदानको कदर र परिवारको भावनाको संरक्षण गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको जनाएको छ । 

प्रदर्शनकारीहरूले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप शान्तिपूर्ण कार्यक्रम गर्ने बताएका छन् ।