भारतको दोस्रो ठूलो राज्य मध्य प्रदेशमा ब्रिक्सको नयाँ विकास बैंक (एनडीबी) को आर्थिक सहयोगमा निर्माण गरिएको सडक परियोजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउनुका साथै रोजगारी र व्यवसायका अवसरसमेत बढाएको छ ।
सन् २०२३ मा सम्पन्न मध्य प्रदेश मेजर डिस्ट्रिक्ट रोड्स परियोजना अन्तर्गत राज्यभरका एक हजार ५४० किलोमिटरभन्दा बढी प्रमुख जिल्ला सडकको स्तरोन्नति गरिएको थियो ।
सडक निर्माण तथा स्तरोन्नतिको काम मध्य प्रदेश रोड डेभलपमेन्ट कर्पोरेसन लिमिटेड (एमपीआरडीसी) ले गरेको हो । एमपीआरडीसीका प्राविधिक सल्लाहकार इन्जिनियर आर.के. मेहराकाअनुसार परियोजना शुरु हुनुअघि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा अधिकांश सडकको अवस्था निकै खराब थियो ।
एनडीबीको सहयोगमा ती सडकलाई पुनर्निर्माण तथा स्तरोन्नति गर्दै टिकाउ र गुणस्तरीय सडक निर्माण गरिएको उनले बताए। यसबाट ग्रामीण क्षेत्र र साना सहरमा भरपर्दो यातायात तथा सञ्चार सम्पर्क स्थापित भएको उनको भनाइ छ ।
परियोजनाअन्तर्गत निर्माण गरिएका अधिकांश सडकले करिब ३ हजारदेखि १० हजार जनसंख्या भएका गाउँ तथा साना सहरलाई जिल्ला सदरमुकाम र अन्य प्रमुख केन्द्रसँग जोड्छन् ।
सडकको अवस्था सुधार भएपछि स्थानीय बासिन्दाका लागि यात्रा छिटो, सहज र सुरक्षित भएको छ । सडक सञ्जाल विस्तारसँगै जिल्ला अस्पताल, विद्यालय, कलेज, सीप विकास केन्द्र, सरकारी कार्यालय तथा सार्वजनिक सेवामा स्थानीयको पहुँचसमेत सहज भएको छ ।
बैंक, बजार तथा कृषि उपज बिक्री केन्द्रसम्म पुग्न सजिलो भएपछि रोजगारी र व्यवसायका अवसर बढेको परियोजना अधिकारीहरूले बताएका छन् ।
इन्जिनियर मेहराले एनडीबी र ब्रिक्सबीचको सहकार्यले विकासका प्राथमिकतालाई वास्तविक पूर्वाधार परियोजनामा रूपान्तरण गर्दै विकासशील देशका नागरिकको जीवनस्तर सुधार गर्नसक्ने उदाहरणका रूपमा परियोजनालाई व्याख्या गरेका छन् ।
सडक पूर्वाधारमा गरिएको लगानीले ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्