काठमाडाैँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् ।
सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएकाले यसको व्यवस्थित उपयोग आवश्यक रहेको बताएकी हुन् ।
‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्कको उत्पादनशीलता बढाउन सके ऊन, दूध र मासुजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न सकिने बताइन् ।
उनकाअनुसार खर्क तथा चरन क्षेत्रको योगदान पशुपालनमा मात्र सिमित छैन । यसबाट उत्पादित ऊन, दूध र मासुजन्य पदार्थको उत्पादन तथा प्रयोग बढाउनुका साथै आयात प्रतिस्थापन र निर्यात विस्तारको सम्भावना पनि रहेको छ । तर जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव तथा संस्थागत समन्वयको कमीका कारण खर्क क्षेत्रले चुनौती सामना गरिरहेको उनले बताइन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको जानकारी दिँदै चौधरीले नीति निर्माणमा भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावलाई आधार बनाइने बताइन् ।
उनले खर्क क्षेत्रलाई जैविक विविधता, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलतासँग समेत जोडेर हेर्नुपर्ने उल्लेख गरिन । खर्कको दिगो व्यवस्थापनले हिमाली तथा ग्रामीण समुदायको जीविकोपार्जनसँगै वातावरण संरक्षणमा समेत योगदान पु¥याउने उनको भनाइ छ ।
नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभव आदानप्रदान गर्दै आयोजित छलफलले नेपालको खर्क नीति संशोधनका लागि आवश्यक सुझाव संकलन गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्