काठमाडौँ, असोज २ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
भेटवार्तामा पछिल्लो समय नेपालमा आएको भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा पुनर्स्थापना, द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार, लगानी, पारवहन, ऊर्जा तथा कनेक्टिभिटीलगायत विषयमा छलफल हुने कार्यक्रम तय गरिएको थियो।
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माणका लागि भारतको सहयोग, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलगायत विषयमा छलफल भएको थियो।
सीतारमणसँगको भेटमा वाग्लेले बाढीपछिको पुनर्निर्माणमा भारतबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए। भारतीय पक्षले नेपाललाई पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
वाग्लेको भारत भ्रमण नेपालमा भदौ १० गते आएको भोटेकोशी बाढीपछि भएको पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय नीति निर्माता, व्यवसायी तथा विकास क्षेत्रका विज्ञहरूसँग पनि विभिन्न चरणमा छलफल गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा वाग्लेले भारतीय उद्योगी–व्यवसायीसँगको कार्यक्रममा नेपालमा भारतीय लगानी विस्तारका सम्भावनाबारे छलफल गर्ने तथा दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थशास्त्रसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्