संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तिब्र विकासले निम्त्याउन सक्ने गम्भीर जोखिमलाई मध्यनजर गर्दै यसलाई व्यवस्थापन गर्न तत्काल विश्वव्यापी संयन्त्र आवश्यक रहेको औंल्याएका छन् ।
उनले ‘बहुपक्षीय एआई जोखिम व्यवस्थापन फ्रेमवर्क’ निर्माण गर्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरे । महासचिव गुटेरेसले एआई प्रविधिको विकास मानिसको बुझाइभन्दा धेरै गुणा तिब्र गतिमा भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले प्रविधि आफैंमा खतरा नभए पनि जवाफदेहिता र पारदर्शिताको अभावमा यसले गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले भने, “आजको शक्ति डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममा निहित छ, जुन निकै थोरै मानिस वा कम्पनीको हातमा केन्द्रित छ ।”
शीतयुद्धको समयमा परमाणु हतियारको जोखिम व्यवस्थापन गर्न विश्वका शक्ति राष्ट्रहरूले जसरी साझा संयन्त्र बनाएका थिए, अहिले एआईको सन्दर्भमा पनि उस्तै तत्परता आवश्यक रहेको गुटेरेसको भनाइ छ ।
उनले एआई प्रविधिमा अग्रणी भूमिका खेलिरहेका मुलुकहरूले सुरक्षा जोखिमका जानकारी आदानप्रदान गर्ने र साझा सुरक्षा मापदण्ड निर्माण गर्नेतर्फ काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रसंघले ‘ग्लोवल डिजिटल कम्प्याक्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरनेशनल साइन्टिफिक प्यानल’ मार्फत एआईको सुशासनका लागि आधार तयार गरिसकेको भए पनि अबको कदम थप कडाइका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
विशेषगरी, बालबालिकालाई परीक्षणको साधन बनाउन नहुने र जीवन–मरणको निर्णय लिने अधिकार कहिल्यै पनि मेशिनलाई दिन नहुनेमा उनले जोड दिए ।
महासचिव गुटेरेसले एआईको विकास मानवहितमा हुनुपर्ने र यसमाथि कुनै पनि अवस्थामा मानवीय नियन्त्रण र निगरानी अनिवार्य रहेको भन्दै ‘किलर रोबोट’ को अवधारणालाई भविष्यमा कुनै स्थान दिन नहुने स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्