काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बङ्गलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक रहेका छन् । पछिल्लो विवरणअनुसार ३०९ जना घाइते भएका छन् ।
आक्रमणपछि एम्बुलेन्स र हेलिकोप्टरमार्फत अस्पताल पु¥याइएका घाइतेहरूको चाप अत्यधिक बढेको स्रोतहरूले बताएका सिएनएनले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
पछिल्लो एक दशकयताकै सबैभन्दा घातक मानिएको यो आक्रमण कुनै पूर्वचेतावनीबिना भएको थियो । साउदी अरबको खतरा चेतावनी प्रणालीले कुनै सूचना जारी नगरेको बताइएको छ । यसअघि यही साता विमानस्थलमा भएका दुईवटा आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने धावनमार्गमा पार्क गरिएको एक व्यावसायिक साउदी विमानमा ठुलो क्षति पुगेको थियो ।
यस घटनाले हुथीविरुद्ध चलिरहेको हवाई अभियानबिच साउदी अरबको सुरक्षा तथा प्रतिरक्षा क्षमतामा रहेका कमजोरीहरू उजागर गरेको विश्लेषण गरिएको छ । हुथीविरुद्ध लडिरहेका यमनी सरकारी फौजलाई समर्थन गर्न साउदी नेतृत्वको गठबन्धनले लामो समयदेखि सैन्य कारबाही गर्दै आएको छ ।
आक्रमणपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले यसको कडा जवाफ दिने चेतावनी दिएको छ।
साउदी अरब र यमन सरकारले हुथी नियन्त्रणमा रहेका क्षेत्रमा सयौं हवाई आक्रमण गरेको दाबी गर्दै आएका छन्। हुथी पक्षले भने ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण मारिएको आरोप लगाएको छ।
घटनापछि रियादबाट हुने सबै उडान अन्यत्र मोडिएको र करिब ८० लाख जनसंख्या रहेको राजधानीको मुख्य विमानस्थलको सेवा अस्थायी रूपमा स्थगित गरिएको साउदी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आक्रमणलगत्तै हुथी सञ्चार कार्यालयका प्रमुखले सामाजिक सञ्जाल एक्समार्फत “रियाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको” दाबी गरेका थिए । साउदी समर्थित यमनी सरकारले हुथीविरुद्ध नयाँ सैन्य अभियान सुरु गरेपछि हुथीहरूले साउदी हवाई क्षेत्रलाई ‘सैन्य कारबाही क्षेत्र’ घोषणा गर्दै व्यावसायिक विमानलाई त्यहाँ नउड्न चेतावनी दिएका थिए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मारिनेमा एक अमेरिकी नागरिक पनि रहेको पुष्टि गर्दै साउदी अरबमाथि भएका पछिल्ला आक्रमणको कडा निन्दा गरेका छन् ।
उनले एक्समा लेखेका छन्, “यी निन्दनीय आक्रमणहरूले निर्दोष नागरिकको जीवनप्रति पूर्ण बेवास्ता देखाएका छन्। यस्ता आक्रमण तुरुन्त रोकिनुपर्छ।”
यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी आक्रमणमा अमेरिका सहभागी हुने सम्भावनाबारे सोधिएको प्रश्नमा भने,“हुन पनि सक्छ । हामी यसबारे विचार गर्नेछौँ । हालैको आक्रमणबारे मात्र जानकारी पाएका छौं, त्यसैले छिट्टै निर्णय हुनेछ। हामी धेरै छिटो अघि बढ्छौँ ।”


प्रतिक्रिया दिनुहोस्