दशैं बिदाले सर्‍यो बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम


काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागले पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको हो।

यसअघि हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम दशैं बिदाका कारण पछाडि सारिएको विभागले जनाएको छ। सरकारले दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते सञ्चालन गर्दै आएको छ।

निर्धारित कार्यक्रमअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

विभागले अभिभावकलाई तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेको छ।

बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य जोखिम कम गर्न सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।