साउदी अरबलाई सहयोग गर्न इजिप्टका राष्ट्रपतिलाई संसदको अनुमति


इजिप्टको संसद्ले साउदी अरबलाई सहयोग तथा रक्षा गर्न आवश्यक कदम चाल्ने अधिकार राष्ट्रपति अब्देल फताह अल–सिसीलाई दिएको छ । संसदको महासचिवालयले सोमवार जारी गरेको विज्ञप्तिअनुसार पूर्ण बैठकमा दुई तिहाइ बहुमतबाट उक्त प्रस्ताव पारित भएको हो ।

पारित प्रश्तावले साउदी अरबको सार्वभौमसत्ता, सुरक्षा तथा पवित्र स्थलहरूको बाह्य आक्रमणबाट रक्षा गर्न आवश्यक कदम चाल्ने अधिकार राष्ट्रपतिलाई दिएको छ ।

यो निर्णय अक्टोबर १८ मा इजिप्टको राष्ट्रिय रक्षा परिषद्ले गरेको निर्णयअनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ । यसअघि अक्टोबर १७ मा राष्ट्रपति सिसीले साउदी अरबको सुरक्षा र सार्वभौमसत्ताको रक्षाका लागि आवश्यक परे इजिप्टले उसले मागेका जुनसुकै कदम चाल्न तयार रहेको बताएका थिए ।

तर त्यसका लागि संसद्को स्वीकृति आवश्यक पर्ने उनको भनाइ थियो । सिसीले साउदी अरबको आग्रहमा रक्षात्मक सहयोग गर्नुपर्ने अवस्था आए त्यसलाई अनुमति दिन संसद्को आपत्कालीन बैठक बोलाएका थिए ।

उनले यस्तो कदम युद्धका लागि नभई विशुद्ध रक्षात्मक उद्देश्यका लागि हुने स्पष्ट पारेका थिए । यसअघि इजिप्टको सरकारी समाचार संस्था मेनाले साउदी अरबको रक्षाका लागि सेनालाई अनुमति दिने विषयमा संसद्मा हुने मतदान अक्टोबर २६ सम्मका लागि सारिएको जनाएको थियो ।

यमनका हुथी विद्रोही र साउदी अरबबीच पछिल्ला दिनमा तनाव बढ्दै गएको सन्दर्भमा इजिप्टको यो निर्णय आएको हो । दुवै पक्षबीच पछिल्लो समय आक्रमण र सैन्य चेतावनी आदानप्रदान भइरहेका छन् ।