काठमाडौँ । नेपालमा पछिल्लो समय डिजिटल भुक्तानीको मुख्य आधारका रूपमा स्थापित भएका डिजिटल वालेट र मोबाइल बैंकिङ मार्फत हुने कारोबार घट्न थालेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भुक्तानी प्रणालीसम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार अघिल्ला महिनाहरूको तुलनामा २०८३ साउन र भदौ महिनामा वालेट तथा मोबाइल बैंकिङ कारोबारको सङ्ख्या र कुल रकम दुवैमा गिरावट आएको छ।
२०८३ असारमा उच्च विन्दुमा पुगेको मोबाइल बैंकिङ कारोबार साउन र भदौमा आइपुग्दा उल्लेख्य रूपमा घटेको छ भने डिजिटल वालेटको प्रयोगमा पनि सोही अनुरूप कमी आएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८३ आषाढ महिनामा मोबाइल बैंकिङ मार्फत ८ करोड २६ लाख ५ हजार १०४ वटा कारोबार भएका थिए, जसको कुल रकम ६ खर्ब ९६ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबर थियो।
साउन महिनामा आइपुग्दा यो कारोबार सङ्ख्या घटेर ७ करोड ८६ लाख ५३ हजार ७१९ मा सीमित भयो र कारोबार रकम पनि घटेर ५ खर्ब ८० अर्ब ५६ करोड ३० लाख रुपैयाँमा झर्यो।
भदौ महिनामा भने केही सुधार भई कारोबार सङ्ख्या ८ करोड ११ लाख ९४ हजार ४४० र रकम ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ पुगेको भए तापनि यो असार महिनाको तुलनामा कम हो।
डिजिटल वालेटतर्फ पनि असारमा वालेट मार्फत ५ करोड ७० लाख ४० हजार ५६३ वटा कारोबार भई कुल ५८ अर्ब ४ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो।
साउन महिनामा कारोबार सङ्ख्या ४० लाख ३३ हजारले घटेर ५ करोड ३० लाख ६ हजार ७६९ मा झर्यो भने रकम पनि ९ अर्ब ४५ करोड १० लाख रुपैयाँले घटेर ४८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कायम भयो। भदौ महिनामा वालेटको कारोबार सङ्ख्या अझ घटेर ५ करोड १४ लाख ९४ हजार ९४९ मा सीमित भयो। यद्यपि भदौमा कारोबार रकम सामान्य बढेर ४९ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
भुक्तानी प्रणालीका अन्य खुद्रा माध्यमहरूमध्ये क्युआर भुक्तानी भने बढ्दै गएको छ। असारमा ६ करोड ९५ लाख ८९ हजार ९७७ वटा क्युआर कारोबार भएकोमा साउनमा ७ करोड २४ लाख ३८ हजार ३०२ र भदौमा ७ करोड ५५ लाख ८१ हजार ९८२ कारोबार पुगेको छ।
रकमको हिसाबले भने असारमा १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ रहेको क्युआर भुक्तानी श्रावणमा घटेर १ खर्ब ६४ अर्ब ४२ करोड ७० लाख रुपैयाँमा झरेको थियो र भदौमा केही सुध्रिएर १ खर्ब ६७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ पुगेको छ।
बैंकिङ प्रणालीमा अब वालेटमा रकम लोड गरेर भुक्तानी गर्नुको साटो सोझै बैंक खाताबाट क्युआर स्क्यान गरेर साना-तिना भुक्तानी गर्न बढी रुचाउन थालेका यसले देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्