प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सञ्चार क्षेत्रमा कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार तथा पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने उल्लेख छ।

विज्ञप्तिमा बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भका रूपमा सञ्चार क्षेत्रलाई लिइएको उल्लेख गर्दै सञ्चारमाध्यममा हस्तक्षेप गर्ने गतिविधिप्रति पार्टीको गम्भीर आपत्ति रहेको जनाइएको छ।

यस्ता गतिविधिका लागि गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको तत्काल पहिचान र छानबिन गरी कडा कारबाही गर्न सरकारलाई निर्देशन दिन पार्टीले माग गरेको छ।

त्यस्तै, बैठकले केही न्यायाधीशबाट भएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायपालिकाको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठाएको निष्कर्ष निकालेको छ।

न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई यस्ता घटनाले थप पुष्टि गरेको रास्वपाको ठहर छ।

न्यायालयभित्रका विकृतिलाई विभिन्न दलको सहमतिमा संसद्बाटै निरूपण गर्न निर्णायक कदम चाल्न तथा यस विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन संसदीय दललाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले मधेश प्रदेशमा पार्टी संगठनलाई थप चुस्त, सुदृढ र गतिशील बनाउने विषयमा पनि निर्णय गरेको छ। सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले प्रस्तुत गरेको ‘मधेश प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ का सिफारिसलाई औचित्य र आवश्यकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान पार्टी सचिवालयलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णय बैठकले गरेको छ। भ्रमणले दुई पार्टीबीचको राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।