काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी इपिएसमा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले वृद्धि भएको हो ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर १२.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको इपिएस ११.६२ रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३५.४७ गुणा रहेको छ ।
व्यापार विस्तारमा आक्रामक देखिएको कम्पनीले चालु वर्षको असोजसम्म २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँको तुलनामा २२.१५ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकारमा पनि उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो वर्ष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेर समीक्षा अवधिसम्म ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
हाल ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा तथा कोषहरू पनि बलिया देखिएका छन् । समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ६७ करोड ३ लाख रुपैयाँ र महाविपत्ति कोष ३४ करोड ५० लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङ ५२ करोड ६७ लाख रुपैयाँ र महाविपत्ति कोष ३२ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यस्तै, समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको असार मसान्तमा क्रमशः १० करोड ९९ लाख रुपैयाँ र ९ करोड १४ लाख रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्