भारतको विदेशी मुद्रा सञ्चिति विश्वको चौथो ठूलो


काठमाडौ ।भारतको विदेशी मुद्रा सञ्चिति रूसको सञ्चितिलाई उछिनेर विश्वको चौथो स्थानमा उक्लिएको हो ।

दक्षिणी एसियाली देशका केन्द्रीय बैंकहरूले आकस्मिक आर्थिक धक्का लाग्न सक्ने आंशका गरी विदेशी मुद्रा सञ्चितिमा ध्यान दिइरहेका बेला भारत चौथो ठूलो सञ्चिति भएको देश बन्न पुगेको हो ।

भारत र रूस दुबैको विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासले भारतको सञ्चिति बढ्न गएको हो ।

हालको सातामा भारतको विदेशी मुद्रा सञ्चिति ४.३ अर्ब अमेरिकी डलर बराबर झरेर गत ५ मार्चमा ५ खर्ब ८० अर्ब ३० करोड अमेरिकी डलर बराबर हुन पुग्यो । सोही क्रममा रूसको विदेशी मुद्रा सञ्चिति ५ खर्ब ८० अर्ब १० करोड अमेरिकी डलर बराबर रहन गएको थियो ।

चीनको विदेशी मुद्रा सञ्चिति सबै भन्दा ठूलो रहेको छ । दोस्रो जापान र तेस्रो स्विट्जरल्यान्ड रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको टेबल अनुसार देखिएको छ ।

भारतको विदेशी मुद्रा सञ्चितिको परिमाणले उसलाई करिब १८ महिनाको आयातलाई आवश्यकता हुने विदेशी सञ्चिति रहेको अनुमान गरिएको छ ।