पूर्वसभामुख महराको अवधारणा,‘बृहत कम्युनिष्ट एकता र नयाँ एजेण्डा’


काठमाडौं । नेकपा (माओवादी केन्द्र) पुनस्र्थापना भएपछि पूर्वसभामुख कृष्णबहादुर महरा बैठकका क्रममा शिर्ष नेताको लहरमा देखिन्छन् ।

माओवादी केन्द्रका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का विश्वासपात्र मानिने महरा वरिष्ठताका हिसाबले अगाडि भएकालेपनि शिर्ष नेताको लहरमा बस्ने अवसर मिलेको छ ।

पार्टीभित्र समन्वयकारी भूमिकामा देखिने महरा अध्यक्ष प्रचण्डसहितको लहरमा बसेर मात्रै सन्तुष्ट छैनन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गर्ने र नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले व्युँताउने सर्वोच्च अदालतको फैसलाबाट असन्तुष्ट छन् र ‘बृहत कम्युनिष्ट एकता र नयाँ एजेण्डा’ को प्रारम्भिक अवधारणामा छलफल सुरु गरेका छन् ।

यो अवधारणाको प्राथमिकतामा भर्खरै खुल्ला राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टी र उक्त पार्टीको नेतृत्व गरिरहेका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ परेको देखिन्छन् । विप्लवलेपनि महराप्रति लकता देखाएको संकेतहरू मिलिरहेको छ । विप्लव नेतृत्व नेकपाको नेतृत्वसँग महराको दोहोरो छलफल सुरु भएको   छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले खुल्ला राजनीतिमा आएलगत्तै भेटे । विप्लवले काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र रामबहादुर थापा ‘बादल’पछि भेट गरेका तेस्रो र सरकारबाहिरका नेता मध्यका पहिलो व्यक्ति थिए,पूर्वसभामुख महरा ।

ललितपुर स्थिति महराकै घरमा भेटमात्रै भएन महरा र महासचिव विप्लवको टिमले सँगै खाना खायो । भेटपछि लुम्बिनी सञ्चारसँगको कुराकानीमा महराले भनेका थिए,“सामान्य भेटघाट हो, दुःखसुखको कुरा भयो ।”

उक्त समयमा राजनीतिक विषयमा भएका कुराकानी अहिलेसम्म सार्वजनिक भएका छैनन् । महराले हिजो मात्रै नक्खु कारागारमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसँग भेट गरेका छन् ।

भेटघाट र छलफल हेर्दा महरालाई विप्लव नेतृत्वको नेकपाको नेतृत्वले पनि महत्व दिएको र उनलेपनि नेकपालाई नजिक ल्याउन खोजेको आँकलन गर्न थालिएको छ ।

भेटघाटबारे महरा छोरा राहुलले पछिल्लो समय कम्युनिष्ट पार्टीहरूबीच देखिएको बेमेल र बृहत कम्युनिष्ट अवधारणाबारे छलफल भएको बताए । उनले भने,“ठोस यै विषयमा छलफल भयो भन्ने त छैन तर पछिल्लो समय देखिएको राजनीतिक अवस्था, बृहत कम्युनिष्ट एकता र नयाँ एजेण्डाका विषयमा छलफल   भयो ।”

बृहत कम्युनिष्ट एकताको वकालतमा रहेका पूर्वसभामुख महराले कम्तिमा २ वर्षभित्र ‘राजनीतिक सिनारियो’ फेरिने आफूनिकटसँग बताउँदै आएका छन् ।

अर्को रोचक पक्ष महासचिव विप्लवले जनयुद्वकालिन कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फागुन २१ गते सार्वजनिक भएपछि अझै भेट गरेका छैनन् । तर महरासँग भने ‘दोहोरो भेट’ भइरहेको छ । महरा विप्लवका शैक्षिक र राजनीतिक गुरुपनि हुन् ।

विप्लवले पछिल्लो समय संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबीच जनमत संग्रहको प्रस्ताव अगाडि सारेका छन् भने वैकल्पिक संयुक्त प्रगतिशील सरकारको अवधारणा सार्वजनिक गरेका छन् । माओवादी केन्द्रले भने यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन ।

पूर्वसभामुख महराले नयाँ एजेण्डाको प्रस्तावसहित छलफल सघन बनाउने खोजेजस्तो देखिन्छ तर यसबारे अवधारणा बने सार्वजनिक गरिसकेका छैनन् ।